जनकपुरधाम । चाडपर्वको समयमा जुवातास नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएसँगै धनुषाका विभिन्न स्थानबाट ३७ जना पक्राउ परेका छन् । प्रहरीले पाँच दिनको अवधिमा जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कात्तिक ७ देखि २४ गतेसम्म भएका छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दासहित महोत्तरी र सर्लाही जिल्लाका व्यक्तिहरूसमेत रहेका छन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ३ लाख ४८ हजार १ सय ९ र भारतीय रुपैयाँ ३ हजार ५ सय बरामद गरिएको छ । प्रहरीले तासका गड्डी, मोबाइल फोन तथा दुईवटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कात्तिक ७ गते जनकनन्दनी गाउँपालिका–२ बल्हाबाट सात जना पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दिउँसो करिब २ः४० बजे तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट नेपाली रुपैयाँ १३ हजार २ सय ८५, भारतीय रुपैयाँ २ हजार ३ सय, तासका दुई बुक र तीनवटा मोबाइल बरामद गरिएको थियो ।
त्यस्तै, कात्तिक १९ गते बिहान करिब ५ बजे जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा जनकपुरधाम–७ का ४० वर्षीय सुजित शर्मा र ४६ वर्षीय शिवशंकर मिश्रा रहेका छन् । उनीहरूको साथबाट पाँच गड्डी तास, १७ हजार ४ सय रुपैयाँ नगद तथा प्रदेश २–०२–००४ प ३९९६ नम्बरको स्कुटर र प्रदेश २–०२–००५ प ४६२५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कात्तिक २१ गते मध्यराति जनकपुरधाम–९ स्थित काली होटलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा जनकपुरधाम, महोत्तरी र सर्लाहीका पाँच जना पक्राउ परेका थिए । उनीहरूको साथबाट नेपाली रुपैयाँ ८८ हजार २ सय ८०, भारतीय रुपैयाँ १ हजार २ सय, तासका १३ सेट र छवटा मोबाइल बरामद गरिएको थियो ।
यसैगरी, कात्तिक २३ गते बिहान करिब ५ः३० बजे जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट तीन गड्डी तास र नेपाली रुपैयाँ १ लाख ६१ हजार ६ सय ४४ बरामद भएको प्रहरीले जनाएको छ ।
कात्तिक २४ गते राति करिब १ बजे जनकपुरधाम–२ स्थित सिटी होटलमा तास खेलिरहेको अवस्थामा थप पाँच जना पक्राउ परेका थिए। उनीहरूको साथबाट ६७ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
जुवाडे छुटाउन टायर बालेर प्रदर्शन
जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसबाट पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्नुपर्ने माग गर्दै स्थानीय तथा पक्राउ परेकाहरूका परिवारजनले विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार साँझ जनकपुरधाम–९ स्थित थापाचोकमा उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।
प्रहरी प्रवक्ता एवं डीएसपी खनालका अनुसार पक्राउ परेकाहरूलाई छुटाउन दबाब दिने उद्देश्यले स्थानीय तथा परिवारजन आन्दोलनमा उत्रिएका हुन् ।
धनुषा प्रहरीले चाडपर्वको समयमा जुवातास खेल्ने गतिविधि नियन्त्रण गर्न निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ । प्रहरीले जुवातास खेल्ने तथा खेलाउने गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गर्दै पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।