काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिनासहितको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पानी पसेपछि यात्रुहरू समस्यामा परेका छन् ।
भारी वर्षासँगै टर्मिनल भवनको छानोबाट पानी चुहिएर भुइँ जलमग्न भएपछि विभिन्न गन्तव्यका लागि उडानको तयारीमा रहेका यात्रुलाई आवतजावतमा कठिनाइ भएको हो ।
विभिन्न वायुसेवा कम्पनीका चेक–इन काउन्टरबाट बोर्डिङ पास लिइसकेका यात्रुसहित टर्मिनलभित्र रहेका अन्य यात्रुहरूलाई समेत पानी जमेकै कारण बाहिर निस्कन र आवतजावत गर्न समस्या भएको छ ।
विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार भारी वर्षाका कारण कमसल छानोबाट पानी चुहिएर टर्मिनल भवनको भुइँ जलमग्न भएको हो ।
ती अधिकारीले चेक–इन काउन्टरबाट भित्र प्रवेश गर्ने क्षेत्रमा पानी जमेको जानकारी दिँदै पानी हटाउने र यात्रुको आवतजावत सहज बनाउने व्यवस्था मिलाइरहेको बताएका छन् ।
उल्लेखनीय छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा गत वर्षको वर्षायाममा पनि यसैगरी पानी पसेर जलमग्न भएको थियो । पटक–पटक एउटै समस्या दोहोरिँदा विमानस्थलको पूर्वाधार व्यवस्थापन र मर्मतसम्भारमाथि प्रश्न उठेको छ ।