बारा । बाराको महागढीमाई नगरपालिका–३ गंजभवानीपुरमा निर्माणाधीन घरमा वेल्डिङको काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–११ घोगरहिया निवासी द्वारिका प्रसाद जयसवालका करिब २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२:०५ बजे गंजभवानीपुर निवासी मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङ गर्ने क्रममा जयसवाललाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि दिउँसो १:१५ बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको थियो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा सोको (SOCO) सहितको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ ।
पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मंगलबार दिउँसो ४:२५ बजे मृतकका दाइ रिकेश जयसवालले शव बुझेर लगेका छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।