रौतहट | रौतहटको गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा ताल यतिबेला धार्मिक उत्सवले झकिझकाउ बनेको छ । नवनिर्मित श्री सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा तथा उद्घाटन समारोहलाई लक्षित गर्दै मंगलबार निकालिएको भव्य कलश यात्राले बरहवा ताल क्षेत्रलाई भक्तिमय बनाएको छ।
१०८ जना कन्या कुमारीको सहभागितामा निकालिएको कलश यात्रामा हात्ती, घोडा, स्थानीय पञ्चेबाजा, धार्मिक झाँकी तथा श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। बरहवा तालबाट सुरु भएको यात्रा टिकुलियास्थित लालबकैया नदीसम्म पुगेको थियो। त्यहाँ वैदिक विधिअनुसार जल भरण तथा पूजाअर्चना गरी यात्रा सम्पन्न गरिएको थियो ।
धार्मिक परम्परा, वैदिक मन्त्र र बाजागाजासहित निकालिएको कलश यात्राले गौर क्षेत्रमा धार्मिक उत्साह थपेको छ । आगामी कार्तिक २६ गते बिहीबार आयोजना हुने मन्दिरको प्राणप्रतिष्ठा तथा उद्घाटन समारोहको तयारीसमेत तीव्र पारिएको आयोजकले जनाएको छ ।
हजुरबुवाको सपना नातिले पूरा गर्दै
नवनिर्मित सूर्य तथा बराह मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण खर्च गौर नगरपालिकाका पूर्वनगर प्रमुख एवं नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले निजी लगानीमा व्यहोरेका हुन् ।
गुप्ताका अनुसार बरहवा ताललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सपना उनका हजुरबुवाले देखेका थिए। हजुरबुवाको जीवनकालमा पूरा हुन नसकेको उक्त धार्मिक संकल्पलाई निरन्तरता दिँदै मन्दिर निर्माण सम्पन्न गराउन पाउँदा आफूलाई गौरव लागेको उनले बताएका छन् ।
बरहवा ताललाई धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्र बनाउने दीर्घकालीन सोच रहेको उल्लेख गर्दै गुप्ताले आगामी दिनमा पनि यस क्षेत्रको पूर्वाधार विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
वैदिक विधिबाट प्राणप्रतिष्ठा गरिने
मन्दिर प्राणप्रतिष्ठा समारोहअन्तर्गत हिन्दू धर्मशास्त्र र वैदिक परम्पराअनुसार विभिन्न पूजाअर्चना, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
आयोजकका अनुसार कार्तिक २६ गते बिहीबार विशेष धार्मिक विधिबाट सूर्य भगवान् तथा बराह भगवान्का मूर्तिको प्राणप्रतिष्ठा, मन्दिर उद्घाटन र मुख्य यज्ञ सम्पन्न गर्ने कार्यक्रम छ । उक्त समारोहमा पूर्वनगर प्रमुख गुप्ता मुख्य यजमानका रूपमा सहभागी हुनेछन् ।
आकर्षक संरचनासहित निर्माण गरिएको सूर्य तथा बराह मन्दिरले गौरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
धार्मिक पर्यटनको नयाँ सम्भावना
बरहवा ताललाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यस अभियानले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
मन्दिर निर्माण र प्राणप्रतिष्ठाले धार्मिक आस्थाको संरक्षणसँगै मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भाव प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
पूर्वनगर प्रमुख गुप्ताले प्राणप्रतिष्ठा समारोहलाई एउटा मन्दिरको उद्घाटनमा मात्र सीमित नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्था, संस्कृति, परम्परा र सामूहिक एकताको उत्सवका रूपमा व्याख्या गरेका छन् ।
उनले कार्तिक २६ गते बिहीबार आयोजना हुने विशेष समारोहमा नगरवासी, जिल्लावासी, शुभेच्छुक तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेका छन् ।
१०८ कन्याको कलश यात्राबाट सुरु भएको धार्मिक उत्सवले बरहवा तालको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइ दिने अपेक्षा गरिएको छ । प्राणप्रतिष्ठापछि सूर्य तथा बराह मन्दिर गौरको धार्मिक आस्था र आन्तरिक पर्यटनको आकर्षक केन्द्र बन्ने विश्वास गरिएको छ ।