बाराको महागढीमाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट दुई वर्षीया बालिका घाइते भएको विषयलाई लिएर भएको विवादमा एक युवकलाई चक्कु प्रहार गरिएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित सडकमा बिहीबार बिहान करिब १० बजे १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले स्थानीय दुई वर्षीया बालिकालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।
सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा स्थानीय ३७ वर्षीय भिम साह लहेरा र मोटरसाइकल चालक बालक मिलेर स्थानीय १९ वर्षीय सुरज साह लहेरामाथि चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट सुरजको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा ३७ वर्षीय भिम साह लहेरा र १५ वर्षीय मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।