जनकपुर प्रादेशिक अस्पताल परिसरमा श्रीमतीको कुरुवा बसेका एक व्यक्ति मृत फेला परेपछि स्थानीय बासिन्दा तथा आफन्तहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव बिहीबार प्रादेशिक अस्पतालको शवगृह नजिक फेला परेको थियो । उनी तीन दिनदेखि परिवारको सम्पर्कबाहिर रहेका थिए ।
प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका सदा अचानक सम्पर्कविहीन भएपछि खोजी भइरहेको थियो । तीन दिनपछि उनको शव अस्पताल परिसरमा फेला परेपछि परिवारजनले उनको हत्या भएको आशंका गरेका छन् ।
घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै आफन्त र स्थानीय बासिन्दाले क्षिरेश्वरनाथ नगरपालिका–स्थित कुम्हरौलमा जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका हुन् ।
यसअघि बुधबार पनि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रादेशिक अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।
मृतकको मृत्युको वास्तविक कारणबारे परिवारजनले हत्या भएको आशंका व्यक्त गरे पनि घटनाको आधिकारिक निष्कर्ष आउन बाँकी छ । आफन्तहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।