धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्कुटर चालक चौधरी गम्भीर घाइते भएका थिए । तर, उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
दुर्घटनापछि मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
यसैबीच, प्रहरीले टिपर चालक महोत्तरीको भङ्गहा नगरपालिका–७ सितापुरका २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।