मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार भएको हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १४ जनाको शव शुक्रबार सर्लाही ल्याइँदै छ । मृतक सबैको पोस्टमार्टम सम्पन्न भएपछि शव गाउँ ल्याउने तयारी गरिएको हो ।
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार मृतक १४ जनाकै पोस्टमार्टम बिहीबार राति सम्पन्न भएको छ । मृतक परिवारले पाउने क्षतिपूर्तिका विषयमा शुक्रबार बिहान छलफल भइरहेको र त्यसपछि शव लिएर सर्लाही फर्किने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना र कविलासी नगरपालिका–८, अगर्बाका हायस चालक एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरपुरका अवधेश यादवकी २८ वर्षीया गर्भवती श्रीमती पुनम यादव, उनका छोरीहरू ५ वर्षीया दीपिका, ७ वर्षीया दीक्षा र १० वर्षीया अनुकुमारी तथा भाइहरू २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादव रहेका छन् ।
त्यस्तै, दुर्घटनामा सुन्दरपुरका ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुवोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादवको पनि मृत्यु भएको छ । हायस चालक कविलासी नगरपालिका–८, अगर्बाका ३० वर्षीय रवीशङ्करकुमार मण्डलको समेत ज्यान गएको प्रहरीले जनाएको छ ।
एउटै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । छठ पर्वका कारण अन्यत्र उत्सवको माहोल रहे पनि सुन्दरपुरमा भने मृतकका परिवार र आफन्तको रुवाबासी छ । गाउँपालिका अध्यक्ष यादवका अनुसार सुन्दरपुरका १३ जनाको एकै स्थानमा सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु सवार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हायस बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो । उक्त गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका सुन्दरपुरका तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि क्रमशः काठमाडौँ र भरतपुर पठाइएको छ । त्यस्तै, ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेको हायस बुधबार राति सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो । काठमाडौँमा यात्रु ओरालेलगत्तै पुनः सुन्दरपुरका यात्रु लिएर सर्लाही फर्किने क्रममा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा हायस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि चक्रघट्टा गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार शोक बिदा दिएको छ ।