नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेसले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । कार्यदलमार्फत दुर्घटनाका कारणको गहिरो अध्ययन गरी सडक सुरक्षा सुधारका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने कांग्रेसको माग छ ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस (ईभी) मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका रहेका छन् । त्यस्तै, एक जना मृतक चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
कांग्रेसले दुर्घटनाबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, घाइतेको उपचार खर्च राज्यले व्यहोर्न तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सडक सुरक्षा नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ ।