मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
छठ पर्व मनाउन घर फर्किने क्रममा भएको उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। काठमाडौं–सर्लाही रुटमा सञ्चालनमा रहेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको पनि कार्यालयले जनाएको छ ।
घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ । यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई दुर्घटनाको कारण अध्ययन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
सरकारले दुर्घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।