सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (३० कात्तिक) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
छठ पर्वको मुख्य पूजाअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत् रूपमा पर्वको समापन गर्ने परम्परा रहेको छ ।
छठ पर्वको महत्त्वलाई ध्यानमा राख्दै सरकारले सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सरकारको निर्णयअनुसार सोमबार सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् ।
छठ पर्व तराई–मधेशसहित देशका विभिन्न भागमा श्रद्धा र भक्तिपूर्वक मनाइने महत्त्वपूर्ण पर्व हो । यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी परिवार तथा समाजको सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ ।