त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडान नम्बर टीजी–३१९ मार्फत आएका यात्रुहरूको जाँच गर्ने क्रममा उनलाई गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका कुमारको साथबाट तीन किलो गाँजासहित एक थान मोबाइल र एक थान पासपोर्ट बरामद गरिएको छ ।
बरामद लागुऔषधसहित पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।