जनकपुरधाम । मधेशको जीवनरेखा मानिएको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेसँगै आगामी मङ्सिरको पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार हाल पुलमा रेलिङ लगाउने काम भइरहेको छ । पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माणका बाँकी कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार मन्त्रालयले पुल सञ्चालनका लागि निरन्तर चासो देखाएपछि बाँकी निर्माण कार्यले गति लिएको महतोको भनाइ छ ।
विसं २०६८ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । सुरुमा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाए पनि निर्धारित समयमा काम अघि नबढाएपछि लुम्बिनी बिल्डर्सलाई निर्माणको जिम्मेवारी दिइएको थियो ।
निर्माण सम्पन्न भएर उद्घाटनको मितिसमेत तय भइसकेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलका पूर्व र पश्चिमतर्फका पाया भासिएपछि सञ्चालनमा आउन सकेको थिएन ।
जेनजी आन्दोलनपछि गठन भएको सरकारले पुल पुनर्निर्माण तथा सञ्चालनमा चासो देखाएपछि चालु आर्थिक वर्षमा भासिएका पाया पुनर्निर्माण र पुल सञ्चालनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
हाल पुलका तीनवटा पाया तथा स्ल्याब निर्माण र ढलानको काम सम्पन्न भइसकेको छ । नदीको बहाव डाइभर्सन गरी पुलमुनिबाट पानीको निकास मिलाउने कामसमेत पूरा भएको छ । अहिले रेलिङ जडानलगायतका अन्तिम चरणका काम भइरहेका छन् ।
कमला पुल सञ्चालनमा ल्याउन सिरहा क्षेत्र नं. १, २, ३ र ४ का सांसद क्रमशः बब्लु गुप्ता, शिव यादव, शम्भु यादव र तपेश्वर यादवले सम्बन्धित निकायको निरन्तर ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।
पुल सञ्चालनमा आएपछि सिरहा र धनुषासहित मधेशका विभिन्न जिल्लाका नागरिकलाई आवतजावतमा सहज हुने तथा हुलाकी सडकमार्फत यातायात र व्यापारिक गतिविधिमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।