जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन पत्नी निकिता पौडेलसहित शनिबार जनकपुरधाम आउँदैछन् ।
मिथिलाञ्चलको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वका अवसरमा जनकपुरधाम आउन लागेका लामिछानेले धार्मिक अनुष्ठानमा सहभागी हुनुका साथै विभिन्न मठमन्दिरको दर्शन र पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा मधेस प्रदेश कार्यालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार लामिछाने शनिबार दिउँसो जनकपुरधाम आइपुग्नेछन् । त्यसपछि जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने शुभकामना आदानप्रदान तथा सम्बोधन कार्यक्रममा सहभागी हुनेछन् ।
शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टीका नेता तथा कार्यकर्तासँग सामूहिक भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् ।
भ्रमणको दोस्रो दिन आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर र भूतनाथ मन्दिरलगायत जनकपुरधामका ऐतिहासिक तथा धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, आइतबार दिउँसो ३ बजे ऐतिहासिक गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा लामिछाने सहभागी हुनेछन् । छठ पर्वका अवसरमा गंगासागरमा हजारौँ श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने गर्छन् ।
भ्रमणको अन्तिम दिन सोमबार बिहान ५ बजे छठ घाटमा हुने पूजा–आराधना तथा अर्घ्य अर्पण कार्यक्रममा सहभागी भएपछि उनी जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेस प्रदेश कार्यालयले जनाएको छ ।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहद्वारा जारी सूचनामा सभापतिको भ्रमणलाई सफल बनाउन प्रदेशअन्तर्गतका सबै तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकलाई आवश्यक समन्वय गरी कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ ।
लामिछानेको यस भ्रमणलाई रास्वपाले मधेसको धार्मिक, सांस्कृतिक तथा सामाजिक परिवेशसँग जोडिने अवसरका रूपमा लिएको छ ।