काठमाडौं । आगामी मङ्सिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
नेपाल मौसम विज्ञान विभागकी मौसमविद् अनिषा निरौलाका अनुसार तराई क्षेत्रमा आगामी बिहीबारसम्म केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । तराईमा आगामी साताभर वर्षा हुने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।
पहाडी क्षेत्रमा भने केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अर्थात् १० देखि ३० प्रतिशत भूभागमा मध्यमसम्मको वर्षा हुन सक्ने मौसमविद् निरौलाले बताउनुभयो ।
त्यस्तै, शनिबार तथा बुधबार र बिहीबार पनि पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थान अर्थात् करिब १० प्रतिशत भूभागमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
हिमाली क्षेत्रमा पनि आगामी केही दिन वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने निरौलाले जानकारी दिनुभयो ।
यसैगरी, शनिबार तथा बुधबार र बिहीबार पनि ती प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने सम्भावना छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने विभागको अनुमान छ ।