हेटौँडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको आवश्यकता, देशको भौगोलिक अवस्था र सरोकारवालाको सुझावका आधारमा कानुन निर्माण गर्ने बताएका छन् ।
पुराना कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्दा सम्बन्धित पक्षसँग पर्याप्त संवाद र छलफल गरेर मात्रै प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
वीरगंजमा छठ पर्वमा सहभागी हुन जाने क्रममा शनिबार मकवानपुरमा प्रतिनिधिसभा सदस्यद्वय प्रकाश गौतम र प्रशान्त उप्रेतीलगायतसँगको भेटघाटमा सभामुख अर्यालले आफूहरू जनताको सेवकका रूपमा काम गर्न आएको बताए ।
देशलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसका लागि जनताको निरन्तर सुझाव र सहकार्य आवश्यक रहेको बताए ।
कानुन निर्माणलाई संसद्को औपचारिक प्रक्रियामा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो । कानुन बनाउँदा जनताको चेतना, आवश्यकता, नेपालको भौगोलिक अवस्था र नयाँ पुस्ताको भविष्यलाई समेत ध्यान दिनुपर्ने उनले बताए ।
‘कानुन निर्माण गर्ने कुरामा एक इन्च पनि कमजोरी हुन नदिने मेरो प्रतिबद्धता छ,’ सभामुख अर्यालले भने ।
उनले कानुन कार्यान्वयन गर्ने निकाय तथा त्यसको प्रत्यक्ष प्रयोग गर्ने सरोकारवालासँग पर्याप्त संवाद गरेर मात्रै कानुन निर्माण गर्ने प्रतिबद्धतासमेत जनाए ।
सभामुख अर्यालले नयाँ जनप्रतिनिधिले गरेका काम, उनीहरूका कमजोरी र जनताको अपेक्षाबारे प्रत्यक्ष जानकारी लिन आफू मकवानपुर आएको बताए । वीरगंज पुग्न सिधै यात्रा गर्न सकिने भए पनि नागरिक तथा जनप्रतिनिधिसँग भेटघाट गरी उनीहरूका सुझाव र अनुभव सुन्न मकवानपुर आएको उनको भनाइ थियो ।
नयाँ जनप्रतिनिधिको कामलाई जनताले कसरी मूल्यांकन गरिरहेका छन् र आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष के–के छन् भन्ने विषयमा आफूले जानकारी लिन चाहेको उनले बताए ।
सभामुख अर्याल शनिबार हेटौँडामै बस्ने र आइतबार छठ पूजामा सहभागी हुन वीरगंज जाने उनको सचिवालयले जनाएको छ ।