जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव तथा आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गर्ने परम्परा छ ।
यस पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरी तथा बुहारीहरू सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्छन् । पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुग्छन् । त्यहाँ दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो बनाई विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्ने चलन छ ।
सामाचकेवाका आकृतिलाई रातो रङको बाँसको डालामा सजाएर दियो बाल्ने गरिन्छ । त्यसपछि राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर सामूहिक रूपमा नाचगान गरिन्छ । यसरी दिदीबहिनीहरूले १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायु र सुख–समृद्धिको कामना गर्छन् ।
यस अवसरमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका परम्परागत गीत गाउने गर्छन् ।
पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवाका आकृतिहरू बनाएर रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाई परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाउने चलन छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ ।
सामाचकेवा पर्व मनाउन विवाहित महिलाहरू माइत जाने परम्परा रहेकाले टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्छन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् ।
मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्सालगायतका जिल्लाका साथै सीमावर्ती भारतीय जिल्लाहरूमा पनि सामाचकेवा पर्व हर्षोल्लासका साथ मनाइन्छ । यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।