जनकपुरधाम । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच उल्लेख्य रूपमा बढेको छ । सूर्य उपासनाको यस पर्वमा केरालाई मुख्य प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले बजारमा यसको माग बढेको हो ।
छठ पर्वको तयारी अन्तिम चरणमा पुगेसँगै व्यापारीहरू केरा बिक्री गर्न व्यस्त छन् भने उपभोक्ताहरू पनि पूजाका सामग्री खरिद गर्न बजार पुगिरहेका छन् । यस वर्ष छठका लागि भारतबाट केरा आयात नभएको र स्वदेशी उत्पादनले नै बजारको माग धानिरहेको व्यवसायीहरूले बताएका छन् ।
जनकपुर फलफूल व्यवसायी सङ्घका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस वर्ष भारतीय केराको आयात शून्य रहेको छ । नेपालकै कैलालीको टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा, निजगढदेखि पूर्वको बिर्तामोड, शनिश्चरे, इनरुवा र कोशी क्षेत्रबाट केरा आपूर्ति भइरहेको उहाँले जानकारी दिनुभयो । स्वदेशी उत्पादन पर्याप्त रहेकाले बजारमा केराको अभाव नहुने उहाँको भनाइ छ ।
अध्यक्ष यादवका अनुसार हाल बजारमा मिर्चमान जातको केरा प्रतिघरी एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म र गोपाल जातको केरा पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
विगतमा भारतबाट मिर्चमान र चम्पा जातका केरा बढी आयात हुने गरे पनि पछिल्लो समय नेपालमै यसको खेती विस्तार हुँदै गएको यादवले बताउनुभयो । अहिले गोपाल र बन्सीबोट जातका केरा पर्याप्त मात्रामा उपलब्ध रहेको उल्लेख गर्दै उहाँले आगामी एक–दुई वर्षमा मिर्चमान र चम्पा जातका केरा पनि नेपालमै पर्याप्त उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
यता, बजारमा केराको सहज उपलब्धता रहेको व्यवसायीहरूको दाबी भए पनि उपभोक्ताहरू भने मूल्यप्रति सन्तुष्ट देखिएका छैनन् । विगतमा भारतीय केरा आयात हुँदा मूल्यमा प्रतिस्पर्धा भई केही सस्तो पर्ने गरेकोमा यस वर्ष स्वदेशी केरा महँगो भएको उपभोक्ताहरूको गुनासो छ ।
केरा खरिद गर्न बजार पुगेका एक उपभोक्ताका अनुसार व्यापारीहरूले प्रतिघरी एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म मूल्य मागिरहेका छन् । विगतमा ६–७ सय रुपैयाँमा पाइने केरा यस वर्ष झन्डै दोब्बर मूल्यमा खरिद गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । छठजस्तो महत्त्वपूर्ण पर्वमा आवश्यक पर्ने सामग्रीको मूल्य नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने उहाँले माग गर्नुभयो ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा केराको घरीसहित विभिन्न फलफूल तथा पूजासामग्री चढाउने धार्मिक परम्परा छ । स्वदेशी उत्पादनले बजारको माग धान्न थालेपछि किसान तथा व्यवसायी उत्साहित देखिए पनि बढ्दो मूल्यका कारण सर्वसाधारण उपभोक्तामाथि भने आर्थिक भार थपिएको छ ।