सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा सबै १४ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म नौ जना घाइतेको पहिचान खुलेको छ भने अन्य पाँच जनाको विवरण खुल्न बाँकी छ ।
घाइतेहरूको विवरण
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार घाइते हुनेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ निवासी दीपक कुमार दास रहेका छन् ।
त्यस्तै, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल, शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन् ।
यसैगरी, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियाङ्का साह तथा उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह र ३ वर्षीया ओमी साह पनि दुर्घटनामा घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।