होली पर्वको अवसरमा बारा र पर्सा जिल्लामा सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले विहानैदेखि मापसे तथा लागूऔषध चेकिङ अभियान सञ्चालन गरेको छ ।
सार्वजनिक सुरक्षालाई मजबुत बनाउन स्थानीय प्रशासन र ट्राफिक प्रहरीले कडाइका साथ चेकिङ गरिरहेको छ । प्रहरीका अनुसार होली पर्वको बहानामा मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न बिहानैदेखि प्रमुख सडक, चोक र प्रवेशद्वारहरूमा विशेष चेकिङ थालिएको हो ।
बारा र पर्साका विभिन्न स्थानमा ट्राफिक प्रहरी र स्थानीय सुरक्षाकर्मीहरूले मापसे तथा लापरवाह सवारी चालकको जाँच गरिरहेका छन् । जस अन्तर्गत, मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा तत्काल कारवाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएकाे छ । साथै, नियम विपरीत सवारी साधनलाई दिनभर नियन्त्रणमा राखिनेछ ।
पर्साका प्रहरी प्रमुख गाैतम मिश्राका अनुसार, ‘‘सार्वजनिक सुरक्षाका लागि कडाइ गरिएको हो । यदि कसैले मापसे सेवन गरेर वा लापरवाहीपूर्ण ढंगले सवारी चलाएमा आवश्यक कानुनी कारबाही गरिनेछ ।’’
चाडपर्वको समयमा लागूऔषध सेवन तथा ओसारपसार बढ्ने सम्भावना रहेकाले प्रहरीले थप कडाइ गरेको छ । शंकास्पद व्यक्ति तथा समूहहरूको शरीर खानतलासी गरिने तथा यदि लागूऔषध फेला परेमा सम्बन्धित व्यक्तिलाई कानुनी दायरामा ल्याइने पर्सा प्रहरीले जनाएकाे छ ।