तराई–मधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्वको खरना दिनदेखि सुरु भएको यस पर्वमा महिलाहरू घरायसी कामकाज सकेर साँझ तथा रातिको समयमा समूहमा भेला भई परम्परागत गीत गाउँदै सामाचकेवा खेल्ने गरेका छन् ।
गाउँका चोक, आँगन तथा खुला स्थानमा महिलाहरूको सामूहिक जमघटले ग्रामीण परिवेशलाई उत्सवमय बनाएको छ । दिदीबहिनीहरू समूह बनाएर सामाचकेवाका परम्परागत गीत गाउने, माटोबाट बनाइएका आकृतिहरूको पूजा गर्ने र विभिन्न सांस्कृतिक गतिविधिमा सहभागी हुने गरेका छन् । यो पर्व कात्तिक पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न हुने परम्परा छ ।
विशेषगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय सामाचकेवा पर्व दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव, विश्वास र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा महिलाहरूले माटोबाट बनाइएका विभिन्न आकृति तथा खेलौनाको प्रयोग गरी परम्परागत विधिअनुसार पूजा तथा खेल प्रदर्शन गर्छन् । समा, चकेवा, चुगला र वृन्दावनलगायतका आकृति यस पर्वका प्रमुख आकर्षण हुन् ।
पौराणिक मान्यताअनुसार समा भगवान् श्रीकृष्णकी छोरी थिइन् । उनीमाथि लागेको झुटो आरोपका कारण वनबास जानुपरेको र उनका भाइ साम्बले सत्यको खोजी गर्दै उनलाई निर्दोष प्रमाणित गराएको कथासँग यो पर्व जोडिएको छ । यही पौराणिक कथाले दाजुभाइ तथा दिदीबहिनीबीचको अटुट प्रेम, विश्वास र एकअर्काप्रतिको समर्पणलाई उजागर गर्छ ।
संस्कृतिका जानकार परमेश्वर कापैरका अनुसार सामाचकेवा पर्वका क्रममा गाइने परम्परागत गीतमार्फत सामाजिक, सांस्कृतिक तथा पारिवारिक विषयवस्तु प्रस्तुत गरिन्छ । गीतमा दाजुभाइको दीर्घायु, परिवारको सुख, समृद्धि, सामाजिक एकता र आपसी प्रेमको कामना गरिने उहाँले बताउनुभयो । पर्वका क्रममा चुगलाको आकृतिमार्फत समाजमा विद्यमान झुट, षड्यन्त्र तथा नकारात्मक प्रवृत्तिमाथि व्यङ्ग्यसमेत गरिने उहाँको भनाइ छ ।
धनुषाको विदेह नगरपालिका–३ की मुन्द्रकला देवीले सामाचकेवा पर्व मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सांस्कृतिक सम्पदा भएको बताउनुभयो । यस पर्वले महिलाहरूलाई एकै ठाउँमा भेला हुने, सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने उहाँको भनाइ छ ।
यद्यपि, पछिल्लो समय आधुनिक जीवनशैली, वैदेशिक रोजगारी, युवापुस्ताको घट्दो रुचि तथा परम्परागत संस्कृतिप्रतिको बेवास्ताका कारण सामाचकेवाजस्ता मौलिक पर्वको निरन्तरतामा चुनौती थपिँदै गएको छ ।
संस्कृतिकर्मी नवीन मिश्रले सामाचकेवा पर्वको मौलिकता जोगाउन स्थानीय तह, सांस्कृतिक संस्था तथा नयाँ पुस्ताले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विद्यालयस्तरबाटै यस्ता पर्वको महत्वबारे जानकारी गराउने, परम्परागत गीत तथा संस्कारको अभिलेखीकरण गर्ने र सामूहिक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने हो भने यसको संरक्षणमा सहयोग पुग्ने उहाँको धारणा छ ।
त्यस्तै, संस्कृतिकर्मी ललित कामतले सामाचकेवा पर्वले मनोरञ्जनसँगै प्रेम, सद्भाव, नारी एकता र सामाजिक सम्बन्धको सन्देश दिँदै आएको बताउनुभयो । यो पर्व धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई मिथिला समाजको पहिचान र पुस्तौँदेखि चल्दै आएको अमूल्य सांस्कृतिक धरोहरसमेत भएकाले यसको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
यसैबीच, सामाचकेवा पर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधामस्थित मैथिली विकास कोषले मङ्सिर १ गतेदेखि ५ गतेसम्म सामाचकेवा मूर्ति निर्माण कार्यशालाको आयोजना गरेको छ । साथै, कोषले सामाचकेवा खेल प्रतियोगितासमेत आयोजना गरेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो ।
पछिल्लो समय मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेका बेला सामाचकेवा पर्वले मिथिलाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसको निरन्तरता र संरक्षणका लागि नयाँ पुस्ताको सहभागिता तथा संस्थागत पहल आवश्यक देखिएको छ ।