सिराहाको मिर्चैया नगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी २७ वर्षीय दिलिप कुमार मण्डल र २४ वर्षीय जितेन्द्र मण्डल रहेका छन् । प्रहरीका अनुसार शुक्रबार राति इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले दिलिपको भान्सा कोठामा तलासी गर्दा ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो ।
त्यस्तै, सोही राति जितेन्द्रको घर तलासी गर्दा ५९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागूऔषधसहित दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।