वीरगंज महानगरपालिका–२२ का सीताराम राउत कुर्मी परिवारसँग जोडिएको जग्गा तथा आर्थिक कारोबारको विवादले अर्को मोड लिएको छ । सीतारामसँग आर्थिक कारोबार गरेका विनोदले समेत आफ्नो जग्गा फिर्ता नपाएको आरोप लगाएका छन् । ऋण लिएको रकमको सट्टा दिएको जग्गासमेत राजकुमार राउत लगायतले हडपेर विवादमा परिदिएकाले न्याय दिलाइदिन उनले माग गरेका छन् ।
विनोदका अनुसार, सीतारामसँग भएको आर्थिक लेनदेनका क्रममा आफ्नो जग्गासमेत विवादमा परेको छ । सीतारामसँग ऋण तथा रकमको कारोबार गरेपछि जग्गा दिएको भएपनि अहिले उक्त जग्गाको स्वामित्व र फिर्तासम्बन्धी विषयमा समस्या उत्पन्न भएको उनको गुनासो छ ।
सीतारामसँग जोडिएको जग्गा कारोबारमा बगही क्षेत्रका केही व्यक्तिहरूको भूमिका रहेको विनाेदकाे भनाइ रहेकाे छ । उनका अनुसार उनीहरूसँग जग्गाको विषयमा कुरा गर्न खोज्दा पनि समस्या समाधान हुन नसकेको उनको आरोप छ ।
यसअघि सीताराम राउत कुर्मीले आफ्नो परिवारको करिब ५ बिघा जग्गा विभिन्न कारोबार तथा आर्थिक लेनदेनका क्रममा गुमाएको आरोप लगाउँदै आएका छन् । परिवारका अनुसार, सीतारामकै रकमबाट जग्गा खरिद गरिदिने आश्वासन दिएर कारोबार गरिएको थियो । तर, पछि आफूहरूका लागि खरिद गरिएको भनिएका १७ कित्ता जग्गा अन्य व्यक्तिको नाममा रहेको जानकारी पाएपछि परिवार समस्यामा परेको हो ।
यसैबीच, पर्सागढी गाउँपालिकाका मनोज पटेलसँग जोडिएको १९ धुर जग्गाको कारोबार पनि विवादमा परेको छ । सीतारामका अनुसार, मनोज पटेलले ६ लाख रुपैयाँ दिएर १९ धुर जग्गाको कारोबार गरेका थिए । उक्त जग्गा सीतारामको नाममा पास गराइएको भनिए पनि अहिले जग्गाको स्वामित्व तथा रकम फिर्ता गर्ने विषयमा अन्योल उत्पन्न भएको उनको भनाइ छ ।
मनोज पटेलले आफ्नो ६ लाख रुपैयाँ फिर्ता गरेर जग्गा फिर्ता लिन भनेका छन् । तर, आफू पहिले नै विभिन्न जग्गा कारोबारका कारण आर्थिक तथा कानुनी समस्यामा परेको अवस्थामा थप समस्या सिर्जना भएको उनले बताएका छन् ।
सीतारामले आफ्नो जग्गा बगही क्षेत्रका राजकुमार राउत कुर्मी र देव नारायण राउत कुर्मीले झुक्याएर लिएको आरोप समेत लगाउँदै आएका छन्। उक्त आरोपबारे सम्बन्धित व्यक्तिहरूसंग सम्पर्क गर्दा यो बिषयमा प्रतिक्रिया दिन मानेका छैन् ।
आफूले जग्गा फिर्ताका लागि अदालतमा मुद्दा लडिरहेको बताउँदै सीतारामले घटनाको निष्पक्ष छानबिन गरी आफ्नो सम्पत्ति फिर्ता गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।