ठूलो व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको हिमालयन ब्रुअरी प्रा.लि.ले वीरगंजस्थित साच्छी डिस्ट्रीब्युटर्स प्रा.लि.लाई आर्थिक संकटमा धकेलेको आरोप लागेको छ । वर्षौंदेखि कम्पनीको क्षेत्रीय वितरक (रिजनल डिस्ट्रीब्युटर–आरडी) का रूपमा काम गर्दै आएको साच्छी डिस्ट्रीब्युटर्सका सञ्चालक राहुल कुमार रौनियारले आफूलाई अन्यायपूर्ण रूपमा व्यवसायबाट विस्थापित गर्ने अवस्था सिर्जना गरिएको आरोप लगाएका छन् ।
साच्छी डिस्ट्रीब्युटर्सका सञ्चालक रौनियारका अनुसार उनको कम्पनीले विगत केही वर्षदेखि हिमालयन ब्रुअरीको मधेस प्रदेशमा बिक्री तथा वितरणको जिम्मेवारी सम्हाल्दै आएको थियो । दुई कम्पनीबीच भएको सम्झौताअनुसार ब्रुअरीले डिलरहरूलाई प्रत्यक्ष रूपमा सामान बिक्री तथा वितरण गर्न नपाउने र आरडीमार्फत मात्रै कारोबार गर्नुपर्ने व्यवस्था थियो ।
तर, उक्त सम्झौताविपरीत हिमालयन ब्रुअरीले केही महिनायता आफ्ना कर्मचारीमार्फत डिलरहरूसँग प्रत्यक्ष कारोबार गर्न थालेको रौनियारले बताएका छन् । यसले गर्दा डिलरहरूसँग रहेको बक्यौता रकम असुली तथा कारोबारको हिसाब मिलानमा समस्या उत्पन्न भएको उनको भनाइ छ ।
रौनियारका अनुसार अहिले पनि बजारमा रहेका डिलरहरूबाट करिब ३ करोड ५० लाख रुपैयाँ उठाउन बाँकी छ । बजारमा रकम बाँकी रहेकै अवस्थामा हिमालयन ब्रुअरीले बैंक ग्यारेन्टीबापत राखिएको रकमसमेत दाबी गरी लिएको र चेकसमेत कालोसूचीमा परेको उनले बताए ।
बजारमा रहेका डिलरहरूको बक्यौता रकम फर्छ्योट नभएसम्म बैंक ग्यारेन्टी दाबी नगर्ने विषयमा हिमालयन ब्रुअरीसँग सहमति भएको रौनियारको दाबी छ । तर, पटक–पटक कारोबारको विस्तृत हिसाब माग गर्दा पनि आवश्यक विवरण उपलब्ध नगराइएको र सहमति भएको १५ दिन नबित्दै बैंकिङ कारोबार कालोसूचीमा पर्ने अवस्था सिर्जना गरिएको उनले बताए ।
रौनियारका अनुसार हिमालयन ब्रुअरीले २०८० माघ १५ गते साच्छी डिस्ट्रीब्युटर्सको ४ करोड रुपैयाँको चेक कालोसूचीमा राख्न बैंकलाई पत्र पठाएको थियो । तर, साच्छी डिस्ट्रीब्युटर्सबाट लिनुपर्ने रकमभन्दा बढीको चेक कालोसूचीमा राखिएको विषयमा त्रुटि महसुस भएपछि एक महिनाभन्दा कम समयमै अर्थात् फागुन २१ गते उक्त चेक कालोसूचीबाट हटाउन पत्र पठाइएको कागजातबाट देखिएको छ ।
रौनियारका अनुसार कारोबारको हिसाब मिलान गर्दा हिमालयन ब्रुअरीसँग साच्छी डिस्ट्रीब्युटर्सले तिर्नुपर्ने रकम करिब १ करोड ७७ लाख रुपैयाँ मात्रै देखिएको थियो । सोही रकम बराबरको चेक साच्छीले पुनः हिमालयन ब्रुअरीलाई दिएको र त्यसपछि थप १ करोड ३२ लाख रुपैयाँ ब्रुअरीको बैंक खातामा जम्मा गरेको उनले बताए ।
चेक र बैंकमार्फत रकम भुक्तानी गर्दा हिमालयन ब्रुअरीको आफ्नै हिसाबअनुसार करिब ४५ लाख रुपैयाँ मात्रै तिर्न बाँकी देखिएको रौनियारको भनाइ छ । तर, आफूले भुक्तानी गरिसकेको १ करोड ७७ लाख रुपैयाँ बराबरको चेकसमेत अहिले कालोसूचीमा राखिएको उनले आरोप लगाए ।
बजारमा डिलरहरूबाट करिब ३ करोड ५० लाख रुपैयाँ उठाउन बाँकी रहेकै अवस्थामा आफूले भुक्तानी गरिसकेको रकमको चेकसमेत कालोसूचीमा राखिनुले व्यवसाय सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको रौनियारको भनाइ छ ।
ठूलो व्यावसायिक घरानाको प्रभावका कारण आफ्नो गुनासोको सुनुवाइ नभएको आरोप लगाउँदै उनले साच्छी डिस्ट्रीब्युटर्सको व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।
उनले आफूले कुनै गैरकानुनी काम नगरी सम्झौताअनुसार व्यवसाय सञ्चालन गरेको दाबी गर्दै बजारमा बाँकी रहेको रकमको हिसाब पारदर्शी रूपमा सार्वजनिक गर्न तथा दुई कम्पनीबीच भएका सम्पूर्ण कारोबारको निष्पक्ष हिसाब मिलान गरी विवाद समाधान गर्न माग गरेका छन् ।