बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार दुई पक्षबीच भएको विवादले झडपको रूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।
स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो । झडपमा संलग्नलाई छुट्याउन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।
झडपका क्रममा घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।