पर्साको बहुदरमाई नगरपालिकामा लाग्ने प्रसिद्ध पाँचदिने बहुदरमाई मेला सोमबारदेखि विधिवत् रूपमा सुरु भएको छ । नगर प्रमुख सिंहासन साह तेलीले रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका हुन् ।

मंसिर ८ गतेदेखि सुरु भएको मेलाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख सुषमा कुशवाह, इन्जिनियर ईश्वरदेव यादव, स्वास्थ्य शाखा प्रमुख विदुर उप्रेती, वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का अध्यक्ष सुनिल महतो कोइरीलगायत जनप्रतिनिधि तथा नगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
मेला समितिका अध्यक्ष जुगुलप्रसाद पटेलका अनुसार मेला लगातार पाँच दिनसम्म सञ्चालन हुनेछ। मेलालाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न खेलतमासा, नाचगान तथा दंगल कुस्ती प्रतियोगितासमेत आयोजना गरिएको उनले जानकारी दिए ।

वर्षौंदेखि स्थानीय परम्परा, संस्कृति र धार्मिक आस्थासँग जोडिँदै आएको बहुदरमाई मेलाले यस क्षेत्रको सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
मेलाले स्थानीय व्यापार तथा व्यवसायलाई चलायमान बनाउनुका साथै साना व्यवसायीलाई आर्थिक गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने मेलामा पर्सासहित आसपासका जिल्लाबाट समेत श्रद्धालु, दर्शक तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । आयोजक समितिले मेलामा सहभागी भई मनोरञ्जन लिन सम्पूर्ण स्थानीय बासिन्दा तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेको छ ।
