वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनीदेखि वडा नम्बर १४ बहुअरी जोड्ने सिर्सिया खोला पुल निर्माण कार्य ११ वर्षपछि पुनः तीव्र गतिमा अघि बढेको छ ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणले गति लिएपछि स्थानीयवासीमा आशा पलाएको छ । करिब २०७२ सालदेखि निर्माण सुरु भएको उक्त पुलको ठेक्का डीएस कन्स्ट्रक्सन कम्पनी जेभी मोनाले लिएको थियो । तर, ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीयवासी वर्षौंदेखि आवतजावतमा समस्या भोग्न बाध्य हुँदै आएका छन् ।
विभिन्न कारणले लामो समयसम्म अलपत्र परेको आयोजनालाई बालेन सरकारले प्राथमिकतामा राखेपछि निर्माण कार्यले पुनः गति लिएको हो । हाल सडक डिभिजन कार्यालय हेटौँडाले पुल निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर सुभाष तिवारीको निगरानीमा निर्माण कार्य अघि बढेकाे सडक डिभिजन कार्यालयले जनाएको छ । यता इन्जिनियर तिवारीका अनुसार अब पुल निर्माणको काम निरन्तर सञ्चालन गरिनेछ । निर्माण टोलीले करिब आठ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको छ भने बढीमा एक वर्षभित्र पुल निर्माण पूरा गर्ने दाबी गरेको छ ।
उक्त पुल निर्माण सम्पन्न भएपछि प्रसौनी, बहुअरीलगायत आसपासका बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरेको छ । यसका साथै, स्थानीयस्तरमा यातायात, व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानियवासीले जनाएकाे छ ।