पर्सा प्रहरीले भन्सार छली गरी चोरी पैठारीमार्फत ल्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१० रानीघाट र वडा नम्बर–१७ रामगढवाबाट छुट्टाछुट्टै समयमा भन्सार छलीका सामान तथा गाडी बरामद गरिएको हो ।
प्रहरीले मंसिर ६ गते दिउँसो करिब १२ः४० बजे रानीघाटबाट भारतबाट भन्सार छली ल्याइएको ४ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको ईभी अटो, खाद्यान्नलगायतका सामान बरामद गरेको थियो ।
त्यस्तै, मंसिर ७ गते साँझ करिब ७ बजे वीरगंज महानगरपालिका–१७ रामगढवाबाट बीआर ०५ जीसी ५८४० र बीआर ३१ जी ९७१७ नम्बरका दुईवटा पिकअप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त पिकअपबाट भन्सार छली गरी ल्याउँदै गरिएको १७ लाख ७९ हजार २ सय रुपैयाँ बराबरका कपडालगायतका सामान बरामद गरिएको थियो ।
दुवै स्थानबाट बरामद गरिएका सामान तथा तीनवटा गाडीको कुल मूल्य २२ लाख २ हजार ७ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
बरामद सामान तथा गाडी आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।