भारतसँगको खुला सीमा र सीमावर्ती भारतीय सहर रक्सौलसम्मको सहज आवागमनका कारण पर्सामा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । प्रहरीले निरन्तर कारबाही गर्दै आए पनि जिल्लामा लागूऔषध तस्करी तथा ओसारपसारका घटना न्यूनीकरण हुन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै लागूऔषधसम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा संलग्न रहेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उक्त अवधिमा गाँजा, ब्राउन सुगर, अफिम तथा विभिन्न प्रकारका औषधिजन्य लागूऔषध बरामद गरेको जनाएको छ ।
कात्तिक महिनामा प्रहरीले ३८ किलो गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरेको हो ।
त्यस्तै, लागूऔषधका रूपमा प्रयोग हुने नाइट्राजेपाम ट्याब्लेट (निट्राजासेन–२०), बुप्रेनोर्फिन इन्जेक्सनका २८ एम्पुल, डाइजेपाम इन्जेक्सनका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सनका १९ एम्पुलसमेत बरामद गरिएको छ ।
भारतसँग जोडिएको खुला सीमा, सीमावर्ती भारतीय सहर रक्सौलमा लागूऔषधको सहज उपलब्धता तथा नेपाली सेवनकर्ताको सीमापार आवागमनले समस्या थप जटिल बनाएको छ ।
रक्सौलमा लागूऔषध खरिद तथा सेवन गरेर नेपाल फर्किने प्रवृत्तिले सीमावर्ती क्षेत्रमा यसको ओसारपसार नियन्त्रण गर्न प्रहरीलाई थप चुनौती भइरहेको छ ।
प्रहरीले कारबाही र बरामदलाई निरन्तरता दिए पनि खुला सीमा तथा सीमापारबाट हुने अवैध कारोबार नियन्त्रणका लागि प्रभावकारी निगरानी र समन्वय आवश्यक देखिएको छ ।