काठमाडौं | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो रहेको बताएका छन् ।
बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले संविधानमै बहुमत हासिल गर्न कठिन व्यवस्था भएकाले राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।
उनका अनुसार समावेशी र समानुपातिक प्रणालीलाई प्राथमिकता दिइएको संविधानका कारण कुनै एकल पार्टीले सहज रूपमा बहुमत ल्याउन सक्ने अवस्था छैन । "अहिलेको संविधान अत्यन्तै राम्रो छ। समावेशी र समानुपातिक सिद्धान्तका आधारमा बनेको संविधान भएकाले बहुमत ल्याउन चुनौतीपूर्ण छ । त्यसैले कुनै न कुनै पार्टीसँग सहकार्य गर्नुपर्ने हुन्छ," उनले भने।
सभापति देउवाले कांग्रेस सबैभन्दा ठूलो पार्टी बने पनि बहुमत प्राप्त गर्न नसकेको उल्लेख गर्दै आगामी दिनमा बहुमत प्राप्त गर्ने रणनीति बनाउनुपर्ने बताए । साथै, उनले संविधानको रक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।