काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले समान विचार र राजनीतिक धारणा राख्ने कम्युनिस्ट घटक तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग पार्टी एकताका लागि औपचारिक पहल अघि बढाउने भएको छ ।
पार्टीको केन्द्रीय कार्य संयोजन समितिको मंगलबार बसेको बैठकले पार्टी एकताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको हो। समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन् ।
नवगठित समितिलाई समान विचारधारा भएका कम्युनिस्ट घटक तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग संवाद तथा वार्ता गरी पार्टी एकताको सम्भावना अघि बढाउने जिम्मेवारी दिइएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक पक्षसँग वार्ता गरिनेछ ।
बैठकमा विभिन्न आठवटा एजेन्डामाथि छलफल भएको थियो। तीमध्ये अन्य दल तथा समूहलाई पार्टीमा समाहित गर्ने विषयसमेत समेटिएको छ ।
वार्ता समितिले समान राजनीतिक उद्देश्य र विचार भएका दल तथा समूहसँग छलफल गर्दै सम्भावित एकताको आधार, राजनीतिक कार्यदिशा र संगठनात्मक समायोजनलगायतका विषयमा संवाद गर्नेछ ।
नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट घटकलाई एउटै राजनीतिक शक्तिका रूपमा संगठित गर्ने उद्देश्यसहित एकताको पहल अघि बढाएको जनाएको छ ।