लगातारको वर्षाका कारण खेतमा सिँचाइको आवश्यकता नपरेपछि गण्डक नहरमा आएको पानी विभिन्न खोलामा निकास दिन थालिएको छ ।
नेपाल–भारत गण्डक सम्झौताअनुसार धानबालीका लागि भारतले उपलब्ध गराउँदै आएको पानी किसानले सिँचाइमा प्रयोग नगरेपछि पर्सा र बाराका विभिन्न स्थानबाट खोलामा झारिएको हो ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत इन्जिनियर मुकेश ठाकुरका अनुसार पर्साको सिक्टा र तिलाबे तथा बाराको जमुनी खोलामा नहरको पानी निकास गरिएको छ ।
नहरमा पानीको मात्रा बढ्दै गएपछि सम्भावित समस्या हुन नदिन अतिरिक्त पानीलाई खोलातर्फ पठाइएको ठाकुरले बताए। उनका अनुसार अहिले गण्डक नहरमा करिब ४ सयदेखि ५ सय क्युसेक पानी प्रवाह भइरहेको छ ।
गण्डक नहरमा भारतले नेपाल–भारत गण्डक सम्झौताअनुसार हाल पनि ८ सय ५० क्युसेक पानी छाडिरहेको छ। तर, निरन्तरको वर्षाका कारण खेतमा पर्याप्त पानी पुगेकाले किसानबाट थप सिँचाइका लागि माग नआएको कार्यालयले जनाएको छ ।
सम्झौताअनुसार धानबालीका लागि हरेक वर्ष असार १५ देखि असोज १५ गतेसम्म ८ सय ५० क्युसेक पानी उपलब्ध गराउने व्यवस्था छ। त्यसैगरी, गहुँबालीका लागि पुस १० गतेदेखि आवश्यकताअनुसार पानी उपलब्ध गराउने प्रावधान रहेको छ ।