उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगंजले शिक्षक सरुवा तथा हाजिरीसम्बन्धी विवादमा अन्तरिम आदेश जारी गरे पनि आदेश कार्यान्वयनमा समस्या देखिएको भन्दै प्रधानाध्यापक सञ्जय कुमार यादव पक्षले गुनासो गरेको छ ।
यादवसमेतले श्री जानकी राजेश पण्डित आधारभूत विद्यालय, बेलाहिटोल लगायतलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले अन्तिम फैसला नहुँदासम्म निवेदकहरूलाई सरुवा गरिएको विद्यालयमा हाजिर गराउनेलगायतका विषयमा अन्तरिम आदेश दिएको बताइएको छ ।
अदालतको आदेश कार्यान्वयन तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक प्रक्रिया अघि नबढेको भन्दै यादव पक्षले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ ।
यादवका अनुसार आदेश कार्यान्वयनको विषयमा पोखरिया इलाका प्रहरीले पुराना प्रधानाध्यापक रामदिनेश पाण्डेलाई केही समय नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो। तर सोधपुछपछि पनि विद्यालयका पुराना प्रधानाध्यापकले आफ्नो व्यवहारमा सुधार नगरेको यादवले दाबी गरेका छन् ।
यादव पक्षले अदालतको आदेश कार्यान्वयन गराउन तथा आदेश उल्लंघन भएको भए प्रचलित कानुनअनुसार छानबिन र कारबाही गर्न माग गरेको छ ।
यद्यपि, पाण्डे पक्ष, पोखरिया इलाका प्रहरी तथा सम्बन्धित गाउँपालिकाको आधिकारिक प्रतिक्रिया भने प्राप्त भएको छैन ।