राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिदका परिवारले प्रत्यक्ष रूपमा न्यायको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको परिवार अझै पीडामा रहेको उल्लेख गर्दै सरकारलाई न्याय सुनिश्चित गर्ने ठोस कदम चाल्न आग्रह गरिन् ।
उनले आन्दोलनका क्रममा पक्राउ परेका जेनजी प्रदर्शनकारीलाई बिना सर्त रिहा गर्नुपर्ने मागसमेत राखिन्। आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि आवश्यक परे देशबाहिर समेत लैजानुपर्ने र त्यसको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने उनको भनाइ थियो ।
सांसद खतिवडाले आफू सांसद बन्नु व्यक्तिगत राजनीतिक आकांक्षा वा पदप्रतिको मोहका कारण नभएको स्पष्ट पारिन्। जेनजी आन्दोलनका सहिदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिनसमेत एक क्षण नसोच्ने उनले संसद्मा बताइन् ।
संसद्मा बोल्ने क्रममा उनले सहिद परिवारमाथि भइरहेको भनिएको राजनीतिक टिप्पणीप्रति पनि आपत्ति जनाइन्। ‘छोराको लाससँग सांसद पद साटेको’ जस्ता टिप्पणी आफूले सुन्नुपरेको भन्दै उनले त्यस्ता अभिव्यक्तिले आमाको पीडामाथि चोट पुर्याउने बताइन् ।
आफ्नो व्यक्तिगत पीडा र मातृत्वको संवेदनशीलतालाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गर्दै खतिवडाले सहिद परिवारप्रति टिप्पणी गर्दा संयम अपनाउन सबैलाई आग्रह गरिन् ।
उनले सहिदको रगत अझै नसुकेको उल्लेख गर्दै आन्दोलनका माग, घाइतेको उपचार र सहिद परिवारको न्यायका विषयमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।