राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह “बालेन” नेतृत्वको वर्तमान सरकार दिशाहीन सिद्ध हुँदै गएको दाबी गरेको छ ।
हिजोदेखि जारी कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारको पछिल्लो कार्यशैलीको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालिएको हो ।
सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा पूर्ण रूपमा असफल भएको महतोले दाबी गरे । गिरीबन्धु, ललिता निवास, सहकारी ठगी र सुन काण्डजस्ता ठूला भ्रष्टाचारका फाइल निष्पक्ष रूपमा छानबिन हुनुपर्ने उनको भनाइ छ । “सरकारले निष्पक्ष छानबिन गर्नुको साटो विरोधीलाई सताउने काम मात्र गर्यो,” उनले भने, “यो तर्साउने र प्रतिशोधको राजनीतिमा मात्र सीमित रह्यो ।”
प्रधानमन्त्रीले जनकपुरधामलगायत विभिन्न मञ्चमा अधिकारसम्पन्न सङ्घीयता कार्यान्वयन गर्ने वाचा गरेका थिए । प्रहरी समायोजन र निजामती सेवा ऐन ल्याउने कुरा गरे पनि तीमध्ये कुनै पूरा नभएको महतोले उल्लेख गरे । “सरकार स्वयंले कार्यदल बनाएर संविधान संशोधनको कुरा गरिरहेको छ,” महतोले प्रतिवेदनमा उल्लेख गरेका छन्, “तर व्यवहारमा प्रशासन र कर्मचारीतन्त्रमाथिको केन्द्रीकृत नियन्त्रण छाड्न चाहेको छैन ।” सरकारले असन्तुष्ट समुदायका मूल सवाललाई ओझेलमा पार्ने काम गरिरहेको उनको आरोप छ ।
व्यापार व्यवसाय ठप्प रहेको र युवा पलायन हुने क्रम तीव्र भएको भन्दै उनले आमजनता अभाव, महँगी र बेरोजगारीको मारमा परेको बताए । सरकारसँग आर्थिक रूपान्तरणको कुनै स्पष्ट नीति नभएको महतोले दाबी गरे । त्यस्तै, थरुहट र मधेस आन्दोलनका क्रममा भएका घटनाबारे गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार अझै डराइरहेको उनको भनाइ छ ।
महतोले आफ्नो प्रतिवेदनमा प्रमुख दलहरूको पनि कडा आलोचना गरेका छन् । लोकतन्त्रको नेतृत्व गरेको दाबी गर्ने कांग्रेस गम्भीर विचारहीनता, बिचौलिया पुँजीवादसँगको साठगाँठ र केन्द्रीकृत गुटबन्दीमा फसेको उनले बताए । “जनताको बहुदलीय जनवादको नारा दिने एमाले संगठनात्मक अमूर्ततामा रुमल्लियो,” उनले भने, “त्यहाँ केन्द्रीकृत नियन्त्रण र नेतृत्वको निरङ्कुश शैली मात्र छ ।” उत्पीडित समुदायको मुद्दा र जनयुद्धको जगमा उभिएको कम्युनिस्ट पार्टी सत्ताको भर्याङ चढ्ने क्रममा सम्पूर्ण आदर्श र एजेन्डा बेचेर विचारशून्य संसदीय जोडघटाउमा सीमित भएको उनको आरोप छ । मधेस आन्दोलनको रापतापबाट उदाएका दलहरू सत्तामा पुगेपछि पदीय बार्गेनिङ, भ्रष्टाचार र आन्तरिक विभाजनमा फसेको उनले उल्लेख गरे । यसैकारण मधेसी र उत्पीडित जनतामा ती दलप्रति व्यापक निराशा जन्मेको प्रतिवेदनमा भनिएको छ ।
पुराना दलको कुशासनबाट वाक्क भएका नागरिकले सुशासन र डेलिभरीको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेको महतोले बताए । ‘तर सत्तामा पुग्नेबित्तिकै रास्वपामा पनि संस्थागत परिपक्वताको अभाव देखियो,” उनले भने, “व्यक्तिपूजा र वैचारिक अस्पष्टतासँगै यो पार्टी पुरानै राजनीतिक प्रतिमानमा ढल्किन थालेको छ ।”