काठमाडौं | खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै राजीनामा माग गरेका छन् । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री चौधरीलाई विरोधस्वरूप कालो झण्डा देखाइएको हो ।
कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीविरुद्ध नाराबाजीसमेत गरेका थिए । "खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद" जस्ता नारासहित प्रदर्शनकारीहरूले संगठनविरोधी गतिविधि अन्त्य गर्न माग गरेका छन् ।
मन्त्री चौधरी कांग्रेसको खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पार्टी कार्यालय पुगेका बेला कार्यकर्ताहरूले विरोध जनाएका थिए । सो कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेका थिए ।
विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो। पार्टी कार्यकर्ताहरूले मन्त्री चौधरीले पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै खेलकुद क्षेत्रको स्वच्छता र निष्पक्षता कायम राख्न आग्रह गरेका छन् ।