दीपावली तथा छठ पर्वको पूर्वसन्ध्यामा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
लक्ष्मी प्याराडाइज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्य तथा समाजका नवनिर्वाचित अध्यक्ष सुरेश साह कानुको अध्यक्षतामा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष अधिवक्ता हरिहर साह कानुले २०६६ सालदेखि हालसम्म संस्थाले तय गरेको यात्रा र इतिहासबारे जानकारी गराएका थिए । त्यस्तै, संस्थाका प्रमुख सल्लाहकार शम्भु गुप्ताले कानु समुदायसहित सम्पूर्ण वैश्य समाज एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा कानु समाज नेपालले निर्माण गर्न लागेको कानु अतिथि सदनका लागि नगद ५ लाख ५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । प्रमुख अतिथि सांसद सुशील साह कानुले पनि अतिथि सदन निर्माण कार्यमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा समाजका नवनिर्वाचित अध्यक्ष सुरेश साह कानुले वीरगंजमा छिट्टै भव्य कानु अतिथि सदन निर्माण गरिने बताए । उनले अतिथि सदन निर्माणले समुदायको सामाजिक तथा संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई समाजका वरिष्ठ उपाध्यक्ष मदन साह कानुले स्वागत गरेका थिए ।