बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता १ लाख २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
१० दिन प्रहरी हिरासतमा रहेका गुप्ता मंगलबार जिल्ला अदालत बाराको आदेशपछि धरौटीमा छुटेका हुन् । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराको ३ नं= इजलासका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
वडा अध्यक्ष गुप्तालाई स्थानीय प्रशुराम गिरीको उजुरीका आधारमा चैत ३ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पहिलो पटक ७ दिन र दोस्रो पटक ३ दिन म्याद थप गरेको थियो । उक्त मुद्दामा संलग्न अर्का व्यक्ति सुनिल गुप्ता पनि ७५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सोही मुद्दामा वडा अध्यक्ष गुप्तासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। हालसम्म ८ जना अझै फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सुरुमा वडा अध्यक्ष गुप्ताविरुद्ध डाँका, आपराधिक उपद्रव तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दायर गरे पनि पछि आरोप परिवर्तन गरी आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।
यसअघि पनि गुप्तामाथि जीतपुरका राजुराज गिरीको घरमा डोजर लिएर जबरजस्ती छिरेको आरोपमा आपराधिक उपद्रवको मुद्दा लागेको थियो । उक्त मुद्दामा बारा जिल्ला अदालतले दोषी ठहर गरेपछि उच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलाग्दै गुप्ता पुनः उस्तै प्रकृतिको मुद्दामा पक्राउ परेका थिए ।
यसपटक गुप्तामाथि चैत १ गते होलीको रात जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा प्रशुराम गिरीको घरमा जबरजस्ती प्रवेश गरी कुटपिट तथा गालीगलौज गरेको आरोप लागेको हो ।