काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीको उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
माओवादी केन्द्रको हालको पदाधिकारी बैठकले उनलाई उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दबहादुर पुनलाई केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यको रूपमा मनोनीत गर्दै उपाध्यक्षमा नियुक्ति गरेका हुन् । प्रवक्ता सापकोटाले भने, "हाम्रो पार्टीले पूर्व उपराष्ट्रपति समेत रहेका नेता नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाएको हो।"
पुन दुई कार्यकालसम्म उपराष्ट्रपति रहेका थिए र उपराष्ट्रपति पदबाट बिदा भएसँगै माओवादी पार्टीमा सक्रिय भएका थिए । उनी पार्टी बैठकहरूमा सक्रिय रुपमा सहभागी भइरहेका थिए ।