नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको विशेष बैठकलाई सम्बोधन गर्न मंगलवार जनकपुरधाम आउँदै छन् ।
मधेश प्रदेश सभाले प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि आमन्त्रण गरेको हो । बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछी धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसूची तय गरिएको छ । प्रदेशसभाले सभासदहरूलाई बिहान १० बजे बैठकका लागि बोलाएको छ भने प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरमार्फत जनकपुरधाम पुग्ने कार्यक्रम तय भएको छ ।
सम्बोधनपछि उनले प्रदेशमा क्रियाशील विभिन्न दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । प्रदेशसभाको कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री ओली सिरहा प्रस्थान गर्नेछन् । ओलीले एमाले सिरहा जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशन उद्घाटनपछी उनी राजधानी काठमाडौं फर्किने कार्यक्रम छ ।
यसैबीच, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवविरुद्ध प्रदेशभरिका पूर्वाधार विकास योजनाहरू दलालमार्फत आफैं बिक्री गरेको आरोप लागेसँगै विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समितिको माग गरेका छन् । मन्त्री यादवमाथि योजनामा १० प्रतिशत कमिसन लिएर सम्झौता गराएको आरोप लागेको हो ।
यस विषयमा संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि लामो समयदेखि अवरुद्ध मधेश प्रदेश सभाको गतिरोध बुधबार हटाइएको हो ।
प्रधानमन्त्रीको यो भ्रमणले राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले मधेश प्रदेशमा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।