काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं महामन्त्री धवलशमशेर राणालाई तेस्रोपटक म्याद थप गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा मिश्र, राणा सहित ११ जनालाई थप १५ दिन र बाँकी ३० जनालाई २० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीका अनुसार ती ३० जना आपराधिक उपद्रव र संगठित अपराधमा संलग्न रहेको आरोपमा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले दिएको जानकारीअनुसार अघिल्लो शुक्रबार पक्राउ परेका ४१ जनालाई पहिलो पटक अघिल्लो आइतबार ५ दिन, त्यसपछि बुधबार दोस्रो पटक ६ दिन म्याद थप गरिएको थियो । अब तेस्रोपटक थप म्यादसहित अनुसन्धान अघि बढाइनेछ ।
राप्रपाले तीनकुने घटनामा राज्यको दमन भएको भन्दै आपत्ति जनाउँदै आएको छ । यता प्रहरी प्रशासनले भने आन्दोलनलाई हिंसात्मक बनाइएको आरोप लगाउँदै आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।