काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीका सबै सदस्यलाई केन्द्रीय कोषमा आर्थिक सहयोग गर्न अनिवार्य गरेका छन् । अध्यक्ष महतोले एक सर्कुलर जारी गर्दै पार्टीका सबै तहका सदस्य तथा पदाधिकारीहरूले आ–आफ्नो क्षमता अनुसार रकम जम्मा गर्न आग्रह गरेका छन् ।
सर्कुलरमा सबै केन्द्रीय सदस्य, राष्ट्रिय सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, पालिका अध्यक्ष र वडा अध्यक्षहरूलाई कम्तीमा पचासवटा सहयोग रसिद काटेर चन्दा सङ्कलन गर्न अनिवार्य गरिएको छ । पचासवटा सदस्यता रसिद वितरण गरेर चन्दा सङ्कलन गर्दा प्रत्येक सदस्यले कम्तीमा एक सय रुपैयाँ योगदान गर्नुपर्ने भनिएको छ ।
सर्कुलरमा उल्लेख छ, “केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यहरूले उठाएको सहयोगको २० प्रतिशत खर्चका लागि र ८० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्नेछ।” यसका अतिरिक्त, अन्य सदस्यहरूले आफ्नो क्षेत्रीय कोषको ५० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अध्यक्ष महतोले सबै सदस्यहरूलाई उक्त निर्देश पालना गर्न अनिवार्य निर्देशन दिएका छन् ।