बिहीबार बिहान परेको पानीले कलैया उपमहानगरपालिका अन्तर्गतको मानवत मटिअर्वा सडक खण्ड हिलाम्मे बनेपछि सवारीसाधन तथा पैदलयात्रुहरूलाई आवतजावत गर्न कठिनाइ भएको छ ।
संस्कार एफएमदेखि भरत चोकसम्मको करिब डेढ किलोमिटर लम्बाइको सडक खण्ड वर्षाका कारण हिलाम्मे बनेको हो । सडक कालोपत्रे अधुरो रहेकाले वर्षा र नालाबाट बग्ने पानी जम्दा पैदलयात्रुहरूसमेत प्रभावित भएका छन् ।
कलैया उपमहानगरपालिका–१ का स्थानीय हरिओम साहका अनुसार देवकोटा चोक लगायतका स्थानहरूमा पानी जमेर सानो पोखरी जस्तै अवस्था बनेको छ । यसले गर्दा यात्रुबाहक बस, अटोरिक्सा, मोटरसाइकल, साइकलबाहक र मालबाहक गाडीहरू चलाउन मुस्किल परेको छ ।
वडा नं. १७ का अटो चालक श्रीराम महतोले जोखिम मोलेर सडक प्रयोग गर्नुपरेको गुनासो गरे । सडक हिलाम्मे भएका कारण दुई दर्जनभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको देवकोटा चोकका मोटरसाइकल मिस्त्री भदई महतोले बताए । मानवत मटिअर्वा सडक खण्डअन्तर्गतको तीन किलोमिटर भाग वर्षेनी अधुरो रहेकोले बर्सातको समयमा यात्रु, बटुवा, कलैया बजार आउने उपभोक्ता र सवारी चालकहरू सास्ती खेप्न बाध्य हुने गरेका छन् ।
स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र सडक कालोपत्रे कार्य सम्पन्न गर्न माग गरेका छन् ।