भारतबाट पक्राउ गरिएका विवदास्पद व्यवसायी तथा पूर्वराजनीतिकर्मी दुर्गा प्रसाईँलाई नेपाल ल्याइएको छ ।
उनी हाल झापा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् र केहीबेरमै विमानमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।
नेपाल–भारत सीमास्थित काँकडभिट्टा नाकाबाट उनलाई नेपाल प्रहरीको टोलीले बिहीबार विहान जिम्मा लिएको हो । प्रहरीले झापा ल्याएर उनलाई हाल जिल्ला प्रहरी कार्यालय, झापामा राखिएको जनाएको छ । झापाबाट काठमाडौं पुर्याउनका लागि चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको नियमित उडानमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । प्रहरी स्रोतका अनुसार ११ः३० बजेको उडानमा उनी काठमाडौं पुग्नेछन् ।
प्रसाईँलाई भारतको पश्चिम बंगाल राज्यबाट पक्राउ गरिएको जनाइएको छ। उनीविरुद्ध नेपालमा विभिन्न मुद्दा दर्ता छन् । विशेषतः सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममा राज्यविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनी लामो समयदेखि निगरानीमा थिए। उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत समेत सूचना प्रवाह गरेको थियो ।
प्रसाईँको पक्राउपछि प्रहरीको उच्चस्तरीय टोलीले अनुसन्धान अघि बढाएको छ । उनलाई काठमाडौं ल्याएर थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको छ। स्रोतका अनुसार काठमाडौं पुर्याएपछि उनलाई महानगरीय अपराध महाशाखामा राखिनेछ ।
यसअघि पनि प्रसाईँ सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममार्फत आपत्तिजनक तथा उत्तेजक अभिव्यक्तिका कारण चर्चामा आइरहँदै आएका थिए । उनको पक्राउप्रति विभिन्न राजनीतिक र सामाजिक तहमा प्रतिक्रिया देखिएको छ ।