काठमाडौं । फिल्म ‘रावायण’ निर्माणका लागि विद्यार्थीहरूसँग उठाइएको रकमको विषयले चर्को विवाद लिइरहेका बेला अभिनेत्री तथा निर्माता पूजा शर्माले आफू निर्दोष रहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत एक पोस्ट जारी गर्दै आफू उक्त घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नरहेको बताउनुभएको हो । शर्माका अनुसार फिल्मका कार्यकारी निर्माता सुशान पाठक नै विद्यार्थीहरूबाट वैदेशिक अध्ययनको नाममा उठाएको रकम फिल्ममा लगानी गरेर सम्पर्कविहीन बनेका हुन् ।
"विदेश अध्ययनको नाममा उठाइएको रकम सम्बन्धी केही भ्रमपूर्ण समाचारहरू मिडिया तथा सामाजिक सञ्जालमा आइरहेका छन्," शर्माले लेख्नुभएको छ, "सो विषयसँग मेरो कुनै पनि संलग्नता छैन। म स्वयं पनि पीडित भएको महसुस गर्दैछु ।" उहाँले दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ। शर्माले फरार पाठकले आफूलाई समेत लगातार टारिरहेको आरोप पनि लगाउनुभएको छ ।
यस घटनाले फिल्म क्षेत्रको पारदर्शिता र विश्वासमाथि प्रश्न उठाइरहेका बेला पूजाले सार्वजनिक रूपमा धारणा सार्वजनिक गर्नुभएको हो ।