काठमाडौं | राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले आगामी वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत १५ गतेको प्रदर्शनमा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ। पार्टीले पूर्वनिर्धारित कार्यक्रमअनुसार वैशाख ७ गते निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । यसैबीच, वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।
पार्टीका प्रमुख नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइका लागि आन्दोलन सशक्त पार्ने निर्णय गरिएको छ ।
आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन विशेष समिति गठन गरेर आन्दोलन र संगठनका अभियानलाई गाउँगाउँ र वडातहसम्म पुर्याउने निर्णय गरिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।