काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई कक्षा १० को उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ ।
बोर्डले बुधबार एक सूचना जारी गर्दै शिक्षकहरूको पेसागत हकहित र सुरक्षासँगै विद्यार्थीहरूको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने कुरा ध्यानमा राख्दै यस्तो अपिल गरेको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कक्षा १० को परीक्षा सकेका विद्यार्थीहरू आफ्नो भविष्यको सुनिश्चित नतिजा पर्खिरहेका छन्। कक्षा १२ का विद्यार्थीहरू पनि माध्यमिक शिक्षा उत्तीर्ण गर्नका लागि उत्सुकताका साथ पर्खिरहेका छन्। यो परीक्षा विद्यार्थीको उपलब्धिको प्रमाणपत्र मात्र नभएर, अभिभावक र शिक्षकको मिहिनेतको परिणाम हो, जसको संवेदनशीलता र मानवीय पक्षमा सबैको ध्यान जानुपर्दछ ।”