काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जाल प्रयोगमा संयमता अपनाउन आग्रह गरेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट र अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन् ।
बैठकमा कार्यवाहक सभापति अर्यालले सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको अराजक उपस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले पार्टीकै छवि र विश्वसनीयता जोखिममा पार्ने चेतावनी दिए ।
“समाजिक सञ्जाल प्रयोग गर्दा आचारसंहिता अन्तर्गत अभ्यास गर्नुस्। सभ्य रूपमा प्रस्तुत हुनुहोस्, अनावश्यक रूपमा नबोल्नुस्, नलेखनुस्,” उनले सबै कार्यकर्तालाई अपील गरे ।
बैठकले महाधिवेशनको नयाँ मिति तोकेको छ भने सातै प्रदेशका लागि प्रदेश इन्चार्ज पनि तोकेको छ । पार्टी स्रोतका अनुसार आगामी महाधिवेशन सफल बनाउन संगठनलाई थप सुदृढ बनाउने निर्णयसमेत बैठकले गरेको छ ।