राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीको बिजुलीबजारमा विरोध प्रदर्शन गर्न लागेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रदर्शन शान्तिपूर्ण र प्रतिकात्मक हुने बताएका छन्। उनले सरकारलाई "डराउन नपर्ने" सन्देशसमेत दिएका छन् । लिङ्देनले भनेका छन्, “आजको प्रदर्शन निरङ्कुशतन्त्रको विरुद्ध शान्तिपूर्ण र प्रतिकात्मक हुनेछ। हामी वैचारिक रूपले प्रतिपक्षमा छौं र प्रतिपक्षले गर्ने जिम्मेवारीका रूपमा काम गर्दैछौं ।”
राप्रपाले दिउँसो १२ बजे काठमाडौंको बिजुलीबजारमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो। सो क्रममा निषेधित क्षेत्र तोड्ने चेतावनीसमेत पार्टीले दिएको छ ।
यता, राप्रपाको प्रदर्शनलाई लिएर गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र उल्लङ्घन गर्ने कार्यलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ । मन्त्रालयले सर्वसाधारणको सुरक्षाका लागि संवेदनशील स्थानहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिएको छ ।
प्रदर्शनको तयारीका सन्दर्भमा राप्रपाका नेताहरूले भने सिमित नेताहरूको सहभागिता रहने र आन्दोलनमा दमन भए सामूहिक गिरफ्तारी दिन तयार रहेको बताएका छन् । उनीहरूले आफूहरूको अभियान लोकतान्त्रिक अधिकारभित्रको शान्तिपूर्ण अभ्यास भएको दाबी गर्दै सरकारले विघटनकारी रूपमा बुझ्नु अनुचित हुने जनाएका छन् ।
यसबीच, उपत्यकाभरि निषेधित क्षेत्र नाघ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सर्च एण्ड कर्डन ड्युटीमा सुरक्षाकर्मी खटाएको छ । सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, प्रधानमन्त्री निवासलगायत ठाउँहरूमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै पुनः सडकमा उत्रिएको राप्रपाको यो अभियान राजनीतिक रूपमा पनि विशेष चासोको विषय बनेको छ ।