काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चाँडै ढल्ने निष्कर्ष निकालेको छ । मङ्गलवार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलभित्रकै तीव्र अन्तर्विरोधका कारण ओली सरकार लामो समय टिक्न नसक्ने दाबी गरेका हुन् ।
बैठकमा अध्यक्ष प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमण सकिएपछि सत्ता समीकरणबारे औपचारिक छलफल सुरु हुने जानकारी दिएका छन् । उनका अनुसार माओवादी केन्द्र सरकारमा सहभागी हुनुको सट्टा काँग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनलाई समर्थन गर्ने रणनीतिमा छ ।
सत्तारुढ गठबन्धनभित्रको असहमति, बजेट तयारीमा चुलिँदो द्वन्द्व, गभर्नर नियुक्तिमा अन्योललगायत विषयहरूले सरकार सङ्कटमा परेको माओवादी केन्द्रको मूल्याङ्कन छ । पार्टीले ओली सरकार लम्बिएमा अलोकतान्त्रिक अभ्यास र संविधानमाथि खतरा आउने चेतावनीसमेत दिएको छ ।
प्रचण्डले शिक्षा विधेयक र राष्ट्रिय राजनीतिक विषयमा प्रमुख प्रतिपक्षी दलहरूसँग छलफल गरी काँग्रेससँग सहमति बनाएर अघि बढ्ने संकेत गरेका छन् ।
राजनीतिक वृत्तमा ‘बजेटअघि सरकार परिवर्तन’ को चर्चा व्यापक रूपमा चलेको छ । काँग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देउवा फर्किएपछि नयाँ रणनीति अपनाउने बताएका छन् ।